प्रदेश नम्बर ५ को समग्र सुरक्षा अवस्था, शान्ति सुरक्षामा देखिएका समस्या र चुनौतीहरूको समाधानको लागि गर्नुपर्ने कामहरूबारे छलफल गर्न रुपन्देहीको मणिग्राममा शुक्रबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन भइरहेको छ।
प्रदेश नम्बर ५ मा पहिलोपटक गृहमन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेम कुमार राई, प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसी, प्रदेश प्रमुख सचिव शंकर प्रसाद पाठक, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मुख्य अनुसन्धान निर्देशक दीलिपराज रेग्मीले देशको पछिल्लो सुरक्षा अवस्था र समस्या तथा चुनौती समाधानको लागि गर्नुपर्ने कार्ययोजनाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सबै तहका निर्वाचन सम्पन्न भई सरकार सञ्चालन भइरहेको अवस्थामा आयोजना गरिएको गोष्ठीले सुरक्षा निकायलाई जिम्मेवारी वहन गर्न स्पष्ट दिशानिर्देश गर्ने बताए।
विभिन्न राजनीतिक दल र समूहको आवरणमा हुने अवाञ्छित गतिविधि, सीमा अपराध र शान्ति सुरक्षालाई प्रभावित पार्ने कुनै पनि गतिविधिलाई निस्तेज पार्न सुरक्षा गोष्ठीले स्पष्ट कार्ययोजना बनाउने उनले बताए।
दिउँसो ३ बजेसम्म चल्ने गोष्ठीमा गृहमन्त्री थापाबाट हालै घोषणा भएको ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशनको कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुने छ।
जिल्ला र प्रदेशस्तरबाट समाधान गर्न सकिने समस्या र चुनौतीलाई औंल्याई समाधानको लागि एकीकृत अवधारणा बनाउन पनि गोष्ठीले सघाऊ पुर्याउने अपेक्षा गरिएको छ।
पाँच नम्बर प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायतका गृह प्रशासनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूको गोष्ठीमा सहभागिता रहेको छ।