कांग्रेस नेता गोपालमान श्रेष्ठले केन्द्रीय समिति बैठकमा अर्का नेता विमलेन्द्र निधिको आलोचना गरेका छन्।
केन्द्रीय समिति बैठकमा गत वर्ष भएका चुनावमा कांग्रेस हारको समीक्षा चलिरहेको छ। चुनावमा कांग्रेस हारका कारणहरूबारे बोल्ने क्रममा नेता श्रेष्ठले निधिको आलोचना गरेका हुन्।
गतवर्ष भएको नेपाल प्रहरी प्रमुख नियुक्ति प्रकरण कोट्याउँदै उनले त्यसबेला गृहमन्त्रीका रूपमा रहेका निधिले पार्टी सभापतिको निर्देशन विपरीत काम गरेको टिप्पणी गरे।
त्यतिबेला देउवा र निधिबीच मत बाझिएको थियो। देउवाले जयबहादुर चन्दलाई आइजिपी बनाउने पक्षमा थिए भने निधि नवराज सिलवाललाई बनाउनुपर्ने पक्षमा थिए। अन्त्यमा देउवाले रोजेका चन्द आइजिपिमा नियुक्त भए। तर अदालतले उनको नियुक्ति बदर गरिदियो। त्यसपछि प्रकाश अर्यालले नियुक्ति पाएका थिए।
बिहिबार केन्द्रीय समितिमा बोल्दै नेता श्रेष्ठले त्यो प्रकरणमा देउवासँग निधिको मतभेद सार्वजनिक भएकोमा आपत्ति जनाए।
'त्यो बेला गृहमन्त्री रहेका निधि र पार्टी सभापतिबीचको मतभेद जसरी सार्वजनिक भयो त्यो गलत थियो, भित्रभित्रै त्यो विषय सल्ट्याउनुपर्थ्यो। बाहिर आएपछि त्यसको असर सभापति र पार्टीलाई पनि पर्यो,’ उनले भने।
उक्त प्रकरणपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने विषयमा पार्टी सभापतिलाई निधिले गरेको असहयोगको पनि नेता श्रेष्ठले केन्द्रीय समितिमा चर्चा गरे।
त्यतिखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार थियो। कांग्रेससँग मिलेर माओवादीले सरकारको नेतृत्व गरेको थियो।
आफ्नो सरकारले नियुक्त गरेको आइजिपीलाई बदर गरिदिएपछि सरकारवादी दल कांग्रेस र माओवादीका संसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा लगे। कार्कीलाई महाअभियोग लगाउने निर्णयमा असहमति जनाउँदै निधिले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
केन्द्रीय समितिमा बिहिबार नेता श्रेष्ठले निधिको उक्त कदमको पनि आलोचना गरेका हुन्।
‘अदालतबाटै प्रहरी नियुक्त हुने काम भयो भनेर पार्टीको निर्णय गराएर सभापतिले सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्देशन दिनुभएको थियो। उक्त निर्देशन विपरीत गृहमन्त्रीबाट विमलेन्द्र ज्यूले राजीनामा दिनुभयो। त्यसले पनि पार्टीलाई असर गर्यो,' उनले भने।
नेता श्रेष्ठले आफूलाई उपसभापति बनाउनुपर्ने माग राख्दै आएका छन्।
उनी बिहिबार दिनभरिजसो बैठकमा बोलेका थिए।
‘पार्टी स्थापना देखिको कुरा गर्दा बैठकमा समय लाग्यो,’ उनले भने, ‘म पुरानो मान्छे २०१५ सालको चुनावका कुरा अहिलेका नयाँ केटाहरूलाई थाहा छैन भनेर मैले सबै सुनाएँ।’
केही तत्कालीन कारण र केही पहिलेदेखि नै पार्टीभित्र झांगिएको नराम्रा संस्कारले यसपालि कांग्रेसको हार भएको धारणा पनि बैठकमा आफूले राखेको बताए।
‘१५ सालमा संसारमा कम्युनिष्टको जगजगी हुँदा हाम्रोमा जम्मा ४ सिट आएको थियो। अहिले संसारमै नभएका कम्युनिष्ट मिलेर यहाँ बहुमत ल्याए,’ उनले भने, 'यो अवस्था आउनुमा अहिलेको नेतृत्वको मात्र दोष छैन।'
कांग्रेस हारको पहिलो कारण वामगठबन्धन र दोस्रो कारण पार्टीभित्र मौलाएको अन्तरघातको संस्कार भएको उनले केन्द्रीय समितिलाई जानकारी गराए।
‘०४८ पछि कांग्रेसले पाँच वर्ष सरकार चलाउनुपर्थ्यो तर सकेन। ०५६ सालपछि कांग्रेसमा घातअन्तरघात सुरू भयो र वडा-वडासम्म त्यो संस्कार पुग्यो, त्यसैले हामीले यो हार व्यहोर्नुपरेको हो,’ उनले केन्द्रीय समितिमा भने।