गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशमा कुनै पनि किसिमको सिन्डिकेट सरकारलाई मान्य नहुने बताएका छन्।
शुक्रवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्। उनले सबै क्षेत्रमा मौलाएको सिन्डिकेट र तस्करी अन्त्य गर्ने दाबी गरे।
सबै क्षेत्रमा व्यवसायीहरूले स्वच्छ प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताउँदै उनले सरकारले यातायात लगायत सबै क्षेत्रको सिन्डिकेट र तस्करीलाई नियन्त्रण गर्ने बताए।
३३ किलो सुन काण्डमा संलग्न कसैलाई पनि नछोड्ने बताउँदै थापाले मुलुकमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्ने दाबी गरे।
पछिल्लो समय घरेलु हिंसा, महिला हिंसा र लागूऔषधजन्य क्रियाकलाप बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले त्यसतर्फ सरकारले ठोस कदम चाल नियन्त्रण गर्ने बताए।
प्रहरीको प्रादेशिक संरचना निर्माण गर्न ऐन नबन्दासम्म सरकारले जारी गरेको निर्देशिकाबाट संरचना निर्माण थालनी गर्ने मन्त्री थापाको भनाइ छ। फरक प्रसंगमा मन्त्री थापाले एमाले माओवादीबीच छिट्टै पार्टी एकता हुने बताए।
उनले पछिल्ला वार्ताहरू निर्णायक बन्दै गइरहेको बताउँदै एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने दाबी गरे।