प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश नं. पाँचको संसदमा सम्बोधन गर्ने भएका छन्। वैशाख १६ गते बिहान ९ बजे प्रदेशसभा बैठकमा प्रधानमन्क्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको संसद सचिवालयले जनाएको छ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न शनिबार लुम्बिनी आउने अवसर पारि संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयका सचिव मानबहादुर विकले सेतोपाटीलाई जानकारी दिए।
प्रधानमन्त्री ओली बौद्ध सम्मेलन र बुद्ध जयन्ती अवधीभर तीन दिनसम्म लुम्बिनीमा बस्ने कार्यक्रम छ। १७ गतेको बुद्धजयन्ती मुल समारोहको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आउने भएकी छन्।
१५ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीले १६ गते संसदमा सम्बोधन गरेपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई पनि सम्बोधन गर्नेछन्।
प्रदेशसभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो कार्यक्रम हो। प्रधानमन्त्री सम्बोधनको लागि मात्र तय गरिएको कार्यत्रम रहेकोले अन्य कार्यसूची नभएको संसद सचिवालयले जनाएको छ।