कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरूले नेतालाई भेट्नु नौलो कुरा नभएको स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘यो लोकतान्त्रिक व्यवस्था हो, यसलाई नौलो कुराको रूपमा लिनु हुँदैन, न्यायाधीशहरू कुनै अलौकिक होइनन्, उनीहरू पनि मान्छे नै हुन्, भेट्न पाउँछन् र पाउनुपर्छ, पाउनु उहाँहरूको अधिकारको कुरा हो।’
मन्त्री तामाङले हिजोजस्तो अपारदर्शी ढंगले अब नचल्ने स्पष्ट पारे। उनले भने,‘भेटहरू पारदर्शी हुनुपर्छ, भेट्न नपाउने भन्ने नै हुँदैन नि, अहिले अखबारमा कार्यवाहक प्रधानन्यायाधीशले नेतालाई भेटेको कुरा आएको छ, यो त कर्टेसी हुनसक्छ, तर भेटघाटसँग जोडेर फैसला आयो भने चाँही अनि त्यो अपराध हुन्छ, यदि न्यायाधीशको कार्यसम्पादनमा असर पर्यो भने त्यो जघन्य अपराध हुन्छ, भेटघाटहरू स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको जगमा बसेर हुनुपर्छ।’
मन्त्री तामाङले न्यायाधीशहरूको सम्पत्ति तत्काल सार्वजनिक गर्नको लागि आफूहरू यतिवेला कानून निर्माणमा जुटेको बताए। उनले भने,‘वडाध्यक्षदेखि सरकार प्रमुखसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ, मैले सम्पत्ति सार्वजनिक गर्न यसअघिपनि अपिल गरेको छु, यदि कसैले सम्पत्ति सार्वजनिक गर्दैन भने त्यो अकुत सम्पत्ति कमाएको ठहरिनेछ, भ्रष्टाचार अन्त्यको लागि पनि सम्पत्ति सार्वजनिक गर्न आवश्यक छ।’
सरकारले सुशासन, पारदर्शीता र जवाफदेहिताको चर्को कुरा गरे पनि अहिलेसम्म त्यो व्यवहारमा नदेखाएको र मिति नै गुज्रिँदा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगर्नुको कारण के हो ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘होइन, हामी तत्काल सार्वजनिक गर्छौं, सुशासन र पारदर्शीताप्रति हामी जिम्मेवार र प्रतिबद्ध छौं, अब केही दिनभित्रै मन्त्रीहरूको सम्पत्ति सार्वजनिक हुन्छ।’
उच्च नैतिक आदर्श बोकेका व्यक्तित्वहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने उनको भनाई थियो।
https://youtu.be/6resSL1kEXc