बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडक निर्माणको विषय पाँच नम्बर प्रदेशसभाको छलफलको मुख्य विषय बनेको छ।
प्रदेशसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले सडक विस्तारको क्रममा घरधनीहरूलाई त्रसित गराउने गरी घर भत्काइएको भन्दै रोक्न माग गरेका थिए।
सांसद भोजप्रसाद श्रेष्ठले राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडक विस्तारको क्रममा सयौं घरहरू भत्काइएकोले यसलाई रोक्न माग गरे। श्रेष्ठले वैकल्पिक मार्गको खोजी गर्नेतर्फ विचार गर्न संसदको ध्यानाकर्षण गराए।
शुन्य समयमा बोल्ने सांसदहरूले विकाश निर्माणलाई जनजिविकासँग जोड्न पनि माग गरे। उनीहरूले संसद भवन सांघुरो भएको भन्दै व्यवस्थित गर्न माग गरेका छन्।
त्यस्तै, सांसद धर्म श्रीवास्तवले किसानलाई सहज मल उपलब्ध हुने व्यवथा गर्न सरकार समक्ष माग गरेका थिए। ५ नम्बर प्रदेशको मुख्य आधार भनेको कृषि भएकाले कृषिको विकास गर्न मलखाद भण्डारण गर्ने व्यवस्था गर्न उनले माग गरे।
अर्का सांसद तुलाराम घर्तीले पाल्पामा चुनढुङगा उत्खनन् गर्दा त्यस क्षेत्रका बस्तीहरू जोखिममा परेकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद कृष्ण न्यौपानेले प्रदेशसभा सदस्यहरूलाई निजी सचिवको व्यवस्था गर्न माग गरेका थिए।
दिउँसो एक बजे बसेको बैठकको क्रममा पटक/पटक विद्युत आपूर्तिमा समस्या देखिएपछि सांसद तुलसी चौधरीले जेनेरेटरको व्यवस्था गर्न माग गरे।
बुधबारको बैठकमा गाउँ तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक टेबुल भएको छ। बैठकमा ५ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले उक्त विधेयक सभामुख समक्ष पेश गरेका थिए।
त्यसअघि संसद बैठकमा पेश भएको प्रदेश नम्बर ५ को सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको लागि बनेको विधेयक मन्त्री केसीले विचार गरियोस् भनी संसदमा प्रस्ताव गरेका थिए।
प्रस्ताव उपर सैद्धान्तिक छलफलमा एक मात्र सांसद बाबुराम गौतमले समर्थन गर्दै प्रदेशका दस्तावेजहरूको अभिलेखीकरण गर्न विधेयक महत्त्वपूर्ण हुने भन्दै स्वागत गरेका थिए।
विधेयक उपर अर्को बैठकमा दफावार छलफल हुने गरी बुधबारको बैठक सकिएको छ। अर्को बैठक वैशाख २१ गते १ बजेका लागि तोकिएको छ।