निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा लिएको चर्को शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै विद्यार्थी संघसंगठनले शिक्षा विभाग घेराउ गरेका छन्।
अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले बुधबार १० देखि ११ बजेसम्म विभाग घेराउ गरेका हुन्। निजी विद्यालयले मनलाग्दी शुल्क लिएकोमा विद्यार्थीले विरोध गर्दै आएका छन्।
संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयन गर्न माग गर्दै सानोठिमीस्थित विभाग घेराउ गरेको अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
निजी विद्यालयले लिएका शुल्क फिर्ता वा नघटाएमा शैक्षिक हड्ताल गर्ने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन्। धर्नाको बेला कर्मचारीलाई विभाग प्रवेश गर्न विद्यार्थीले रोकेका थिए।
अनेरास्ववियू कार्यबहाक अध्यक्ष महेश बर्तौला, नेविसंघ उपसभापति पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेत, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, नेक्राविसंघका अध्यक्ष निरज लवजुलगायतले निर्देशिका विपरीत शुल्क लिएमा संघर्षमा उत्रने चेतावनी दिएका हुन्।