पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष उद्घाटन गरेका छन्।
हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष उद्घाटन गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनर्निर्माण गरिसक्ने बताए।
भूकम्पपछि सम्पदाको पुनर्निर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघि बढ्नेमा जोड दिँदै मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए। पुनर्निर्माणमा विगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनर्निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उल्लेख गरे।
कार्यक्रममा काठमाडौंमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए।
शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिए। करिब २८ लाख रुपैयाँको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौंमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन्।
सोही अवसरमा मन्त्री अधिकारीले हनुमानढोकास्थित प्रताप मल्लको पुनः स्थापित शालिकसमेत अनावरण गरे। भूकम्पबाट ढलेको सालिकको पुनर्निर्माण ललितपुर मंगलबजारका कलाकार बुबा श्याम डंगोल र छोरा कपिल डंगोलले गरेका थिए।रासस