एमाले र माओवादी केन्द्रका दुई जना नेताले अहिले नेपाली कम्युनिष्टलाई सबैभन्दा खतरा भएको बताएका छन्।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुुसाल र माओवादी केन्द्रका नेता राम कार्कीले सत्तामा रहेकाले अहिले नेपाली कम्युनिष्टका लागि सबैभन्दा खतरनाक अवस्था रहेको बताए।
‘विश्व इतिहास हेर्दा मार्क्सवादले त्यतिबेला धक्का खाएको छ, जतिबेला यो बलियो हुन्छ,’ माओवादी नेता कार्कीले भने, ‘हामीलाई जनताले भोट दिएर पठाएका छन्, त्यही भएर हामी एउटा खतरनाकस्थितिमा आइपुगेका छौं। तल्ला तहका नेता कार्यकर्तालाई लागेको छ, अब समाजवाद काठमाडौंबाट होम डेलिभरी भएर आउँछ।’
उनले चुनावपछि जनता र पार्टीको सम्बन्ध टुट्ने, स्थानीय कमिटीमा हामीले काम गर्ने हो, समाजवाद यहीँ जन्माउने हो भन्ने भन्दा पनि समाजवाद लिन सिंहदरबार डेलिगसन आउने क्रम सुरु भएको बताए।
एमाले उपमहासचिव भुसालले कम्युनिष्टहरूलाई ठूलो खतरा सत्तामा हुँदा हुने बताए।
उनले पछिल्लो समय सरकारले विकासका कुरा गर्दा मान्छेलाई छोडेर ढुंगागिट्टी, रड, सिमेन्ट,बालुवा र क्रंक्रिटका मात्र कुरा गर्न थालेको बताए।
‘राजनीति, सिद्धान्त, विचार र सम्वृद्धिको केन्द्रमा मान्छे हुन्छ, मान्छेबिना सम्वृद्धिको बहस अमानविय र अवस्तुगत हुन्छ,’ भुसालले भने, ‘त्यसैले यी सबै कुरा मान्छेसँग जोडिएका हुनुपर्छ।’
उनले नेपाली माटो सुहाउँदो विकास कसरी गर्ने भन्ने अहिलेको अहम् प्रश्न भएको बताए।
‘मार्क्सवादको ऐनाबाट यसको उत्तर खोज्ने हाम्रो प्रयत्न छ,’ उनले भने। कार्ल मार्क्सको २०० औं जन्मजयन्तिको अवसर पारेर आउने वैशाख २१ र २२ गते यसबारेमा राष्ट्रिय बहस आयोजना गरिएको उनले जानकारी दिए।
भुसाल २ वर्षअघि गठन भएको कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समितिका संयोजक हुन्।