प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले सो अठोट व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौं । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।’
प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि आग्रह गरे।
उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको पनि बताए।
प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको पनि बताए। उनले मदन भण्डारीको विचार सबैको साझा विचार भएको उल्लेख गर्दै सोही विचार अनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंसनीय भए पनि काठमाडौंको सडक निर्माणमा भइरहेको ढिलाई सबैको टाउको दुखाइको विषयमा बन्ने गरेको पनि स्मरण गराए।
कडा निगरानीका साथ सडक निर्माणको काममा तीव्रता दिन नेता नेपालको सरकारलाई सुझाव छ। वरिष्ठ नेता नेपालले वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार हुन नदिने विश्वास व्यक्त गरे।
https://www.youtube.com/watch?v=QKUtBPhSmcQ&feature=youtu.be