प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामा र प्रदेशसभा सदस्य घनश्याम दाहालले विपन्न परिवारका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।
मन्त्री लामाले दुई चेपाङ र दाहालले शहीद परिवारका बालकको अभिभावकत्व ग्रहण गरेका हुन्।
मन्त्री लामाले राप्ती नगरपालिका–१० स्वामिटार माविकी छ वर्षीया निशा चेपाङ र पाँच वर्षीय सुजन चेपाङलाई कक्षा १ मा भर्ना गराए। सोही क्रममा उनले विद्यालय पोशाकसहित पाठ्यसामग्री सहयोग गर्दै आवश्यक सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रदेशमन्त्री लामाले बताए।
प्रदेश सदस्य दाहालले द्वन्द्वका क्रममा ज्यान गुमाएका रामबहादुर तामाङका १३ वर्षीय छोरा रमेशलाई पूर्वी चितवनको कालिका नगरपालिका–७ स्थित पृथ्वी माविमा भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन्। बालबालिकाको भर्ना गराउने सरकारी अभियानलाई सफल बनाउन शहीद परिवारको अभिभावकत्व ग्रहण गर्दै सोमबार पृथ्वी माविको कक्षा ६ मा भर्ना गरिएको तथा विद्यालय पोशाक, पाठ्यपुस्तकसमेत उपलब्ध गराउँदै हरेक वर्ष एक नयाँ विद्यार्थीको अभिभावक बन्ने प्रतिबद्धता जनाए।रासस