सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कँडेललाई नियुक्त गरेको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले डा. कँडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर शुशिल भट्ट, मीनबहादुर शाही र रामकुमार फुयााललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ। सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध हुनेगरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता बास्कोटाले बताए।
त्यसैगरी मन्त्रिपरिषद बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय पनि गरेको छ। सो विमानस्थल निर्माणको काम अघि बढ्न नसकिरहेका बेला सरकारले त्यसलाई सहज बनाउन उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय गरेको हो।
सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद बैठकले तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनका लागि १० करोड अनुदान सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ। कैलालीमा सञ्चालित रानी–जमरा–कूलरिया सिँचाई आयोजनाका लागि विश्व बैंकको ६ अर्व ८६ करोड ऋृण सहायता लिने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
सरकारी पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको बैदेशिक भ्रमण व्यवस्थापनका लागि तयार पारेको निर्देशिका पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
सरकारले बेपत्ता व्यात्ति छानबिन गर्न बनेको अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धि अध्यादेश, राष्ट्रिय चिकित्सा सम्बन्धि ऐन र राष्ट्रिय सभा निर्वाचनसम्बन्धि व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।
https://www.youtube.com/watch?v=YOUXrbTJ2-Q&feature=youtu.be