नेपाल विद्यार्थी संघभित्रको असन्तुष्ट समूहले संगठनभित्र ‘टिके’ प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको छ।
लोकतन्त्र दिवसको अवसरमा मंगलबार नेविसंघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समूहले सो कुराको माग गरेको हो।
सभापति नैनसिंह महरले विधान विपरीत विवादित जिल्लाहरूमा प्रतिनिधि खटाएकोमा असन्तुष्ट समूहले आपत्ति जनाएको छ।
‘सभापतिको गतिविधिले महाधिवेशन नै हुँदैन कि भन्ने देखिन्छ। छिटो महाधिवेशनको मिति तय गर्नुपर्छ। विवादित ११ जिल्लामा तीन महिनाभित्र गर्नुपर्ने अधिवेशन २० महिनासम्म पनि किन गरिएन?’ उपाध्यक्ष उर्मिला थपलियाले प्रश्न गरिन्, ‘अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ। सभापतिले ‘टिके’ प्रवृत्ति छाड्नुपर्छ।’
सभापतिले कोठाभित्र बसेर एकलौटी ढंगले महाधिवेशनको मिति तय गर्न नपाउने उपाध्यक्ष थपलियाले बताएकी छन्। अध्यक्ष महरले सोमबार नै १२ औं महाधिवेशन आउँदो साउन २३ गतेदेखि गर्ने परिपत्र गरेका थिए।
‘केन्द्रीय समिति बैठक राखेर छलफलपछि मात्रै महाधिवेशनको मिति तय गर्नुपर्छ, एकलौटी ढंगले कुनै छलफल बिना महाधिवेशनको मिति तोक्न पाइँदैन,’ उनले भनिन्, ‘मनोजमणि आचार्यको नेतृत्वमा रहेर चुनाव जितेकाहरूसँग पनि सभापतिले छलफल गर्नुपर्छ।’
अधिवेशनको मिति र स्थान तोक्न पाँच उपाध्यक्षले सोमबार माउ पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो। पत्रकार सम्मेलनमा नेविसंघ नेता आचार्यले बलियो र संगठित नेविसंघ बनाउने अभियानमा देश भरका नेविसंघलाई गोलबद्ध हुन आग्रह गरे।
‘सानो कुराले मन भाँचिन्छ, दुख्छ। संगठन बलियो हुँदैन’, अध्यक्ष महरप्रति लक्षित गर्दै आचार्यले भने, ‘टिके प्रवृत्तिले संगठनलाई बलियो बनाउँदैन। चिठी बाँडेर संगठन कब्जा हुँदैन।’
उनले संगठन निर्माणमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।
टीका लगाएर प्रतिनिधि खटाउनुभन्दा विधिसम्मत विवादित जिल्लामा अधिवेशन गराउन उनले आग्रह गरेका छन्। ११ औं महाधिवेशन ताका उब्जिएको विवाद २० महिना हुँदासमेत सुल्झिन नसक्दा गुटगत विवाद हुँदै आएको छ।
‘गुटले संगठनलाई क्रियाशील बनाएको छ। गुटले संगठन धराशायी भएको जस्तो लाग्दैन’ उपाध्यक्ष थपलियाले सेतोपाटीसँग भनिन्, ‘नेतृत्वप्रति ठूलो आशा थियो। तर, उहाँको गतिविधि हेर्दा महाधिवेशन समयमै गर्न इच्छुक हुनु हुँदैन कि भन्ने देखाउँछ।’
यता सभापति महरले भने जसरी पनि महाधिवेशन गराउने पक्षमा आफू रहेको बताए। विवादित जिल्लाहरूमा सबै पक्षसँग छलफल गरी अधिवेशन गराउनकै लागि प्रतिनिधि खटाएको उनले जानकारी दिए।
‘महाधिवेशनको मिति तय भइसकेकाले तोकिएको समयमै महाधिवेशन गर्नका लागि सबैको सहयोग आवश्यक छ’,उनले भने।
चुनावमा हारेकाहरूले सभापतिको अधिकार लिन खोज्दा अनेकन समस्या आइपरेको उनको बुझाइ छ।
पौडेल समूह र सिटौला समूहका विद्यार्थीहरूले महरविरुद्ध स्पष्टीकरण सोध्नेदेखि संगठन धराशायी बनाएको आरोप लगाउँदै आएका छन्।