प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथाको सफाइ अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्।
सगरमाथाको सफाइलाई साझा अभियानको रूपमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रधानमन्त्री ओलीले सचेत गराए।
पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्छ।'
प्रधानमन्त्री ओलीले फोहरकै कारण सगरमाथाको आरोहण अवरुद्ध हुने अवस्था आउन नदिन पनि मातहतका निकायको गम्भीर ध्यानाकर्षण गराए।
उनले सावधानीपूर्वक सगरमाथा आरोहण गर्न पनि आग्रह गरे। सगरमाथा आरोहण गर्ने क्रममा हुने जोखिम न्यूनीकरणमा सरकारले विशेष जोड दिने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले मुलुकको पर्यटन क्षेत्रको विकासमा पर्वतारोहणले महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराए। त्यस अवसरमा उनले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने स्वर्गीय पासाङ ल्हामू शर्पाको योगदानको पनि चर्चा गरेका थिए। पासाङ ल्हामू शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो।
https://www.youtube.com/watch?v=dbt0RBhFH3c&feature=youtu.be