एक महिनायता जारी नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिएका हुन्।
निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा पनि नेताहरूले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन नेतृत्वसँग आग्रह गरेका थिए। बैठकको सुरूमै बोल्दै नेताहरू आनन्द विष्ट, अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जितकार, मानबहादुर विश्वकर्माले बदलिँदो परिवेश अनुसार पार्टीलाई अघि बढाउन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
निर्वाचनमा केन्द्रीत भएरै सदस्यहरूले आ–आफ्नो धारणा राख्ने काम जारी रहेको पनि प्रवक्ता शर्माले बताए। केन्द्रीय सदस्यहरूले भोलिसम्म बोलिसक्ने गरी बैठकलाई अघि बढाइएको पनि उनले बताए।
गत चैत ९ गते चुनावको समिक्षा गर्ने मूल एजन्डासहित सुरू भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक पार्टी नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि स्थगित गरिएको थियो। त्यसपछि सोमबारबाट पुनः सुरू भएको बैठकमा कांग्रेस नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजान पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए।
प्रवक्ता शर्माले बुधबार पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको पनि बताए। केन्द्रीय कार्य समितिको बैठकले पार्टी एकताको सन्देश दिने उनको दाबी छ।