नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई रोक्ने तागत कसैसँग नभएको बताएका छन्।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आईतबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै तागतले पनि एकतामा बाधा पुर्याउन नसक्ने उद्घोष गरेका हुन्।
एकताको पूर्वसन्ध्यामा अलि अलि केही केही सेन्टीमेन्टल कुरा देखिए पनि एकतालाई बाधा नपुग्ने ओलीले स्पष्ट पारे। कम्युनिष्ट एकताको हित नचिताउनेहरुको आशाको टुसो पलाउन नपाउँदै पार्टी एकता घोषणा हुने बताएका ओलीले अब एकतालाई कुनै पनि शक्तिले बाधा नपुर्याउने दाबी गरे।
उनले सबैलाई अचम्म पार्ने गरि बाम एकताको घाषणा गरे जस्तै गरी पार्टी एकताको घोषणा गर्ने उद्घोष गरे।
उनले पार्टी एकता मेलामा लगाएको मित नभई आन्दोलनको सहयात्रा र एउटै बाटोमा हिड्ने प्रतिबद्धता भएकाले त्यसलाई कसैले विथोल्न नसक्ने बताए।
कम्युनिष्ट पार्टी फुटको लाभ दक्षिणपन्थी, कम्युनिष्ट विरोधीले लिने भन्ने हुन सक्दैन भन्ने संकल्पका साथ आफूहरू एकजुट भएको उनले उद्घोष गरे। अन्तबाट आईलागेको र बाटोमा भेटिएको एकता नभएको भन्दै उनले मेहनतका साथ अघि बढाईएको एकता प्रक्रियालाई सफल पार्ने बाहेक अर्को बाटो नभएको स्पष्ट पारे।
‘जुत्ता मिलेन भनी जुत्ता लाउदिन भन्ने ठाउँ छैन, खुट्टा तासेर भए पनि जुत्ता लगाउनुपर्ने स्थितिमा पार्टी एकताको विषय आईपुगेको छ,’ प्रधानमन्त्री ओलीले भने।
विहे गर्नुभन्दा अगाडि दुलाहा दुलहीको घर भिन्न भिन्न भए पनि विहेपछि त्यो घरको सबैको बराबर माया लाग्ने दृष्टान्त दिदै उनले एकता भएपछि सबै समस्याको अन्त्य हुने र एकता निकट भविश्यमा भएरै छोड्ने दाबी गरे।
उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पछाडि फर्केर के भयो नभनि अघि बढ्न आग्रह समेत गरे।
उनले संविधान बनाउन र कार्यान्वय गराउने जस दुईदलमा रहेको दाबी पनि गरे।
दुई दलबीचको १६ बुँदे सम्झौतामा बाँधेर र चेपेर नै संविधान जारी गरेको तथा आफूहरुकै दबाब पछि मात्रै संविधान कार्यान्वयनका लागि चुनाब गरिएको जिकिर गरे।
उनले प्रमुख प्रतिपक्षी दलले सरकार विरुद्ध अफवाह फैलाउने काम गरेको बताए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राजधानीमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले सुसासन र पारदर्शीताका साथ अघि बढेको सरकारका बारेमा अन्योल खडा गरि अधिनायवाद सुरु भईसक्यो भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे।
उनले भने, ‘प्रधानमन्त्रीका विरुद्ध सञ्चारमाध्ययमले त केही लेख्दै लेख्दैन, बोल्दै बोल्दैनन् रे, पत्याउनुहुन्छ? प्रधानमन्त्रीका विरुद्ध सञ्चारमाध्ययमले त केही लेख्दैन रे ,भन्न कसरी सकेको? प्रधानमन्त्रीका विरुद्ध लेख्न डराँउँछन् रे। नेपालका पत्रकारहरुलाई यत्रो अपमान गर्ने आँट कसरी आयो होला? नेपालको प्रेस जगतको यत्रो अपमान गर्ने हिम्मत कसरी भयो? मान्छेले गति नै छोडेपछि, जे बोले पनि हुन्छ।’
प्रशासन र सरकार भनेको मालिक र शासक नभएको भन्दै उनले जनताका सबै समस्या समाधानका लागि संयोजनकारी भूमिकामा रहने विश्वास दिलाए।
विगतदेखिको राजनीतिक यात्राको चर्चा गर्दै उनले कम्युनिष्टलाई जनताले अपनाउन खोज्दा पनि तिरस्कार गराउने षडयन्त्र भएको टिप्पणी गरे। उनले नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा २०१७ साल देखिनै कम्युनिष्टमाथि अत्यन्तै दमनकारी ढंगले छिन्न भिन्न पार्ने काम भएको दाबी गरे।
https://www.facebook.com/setopati/videos/1863192580417973/?t=3141