नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने खेल भईरहेको बताएका छन्।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आईतबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकता हुन नदिन मुलुकको राजनीतिक वृतमा धेरै प्रकारका खेल भईरहेको बताएका हुन्।
मुलुकमा समय अनुसार चलेका हल्ला,शक्ति र स्वार्थको टकरावका कारण पार्टी एकता हुन नसक्ने भन्दै उनले कसैलाई थाहा नै नदिई एकताको घोषणा गरिने बताए। एकताका लागि जुटेका दललाई उचाल्ने काम भईरहेको भन्दै उनले दुवै दलले संयमता अपनाउनु आवश्यक रहेको बताए। ठूलो पार्टी हुँदाको अनुभूति माओवादी र एमाले दुवैले गरेकाले दुई ऐतिहासिक धार र भूमिकाका दलले एक अर्कालाई सम्मान गर्दे अघि बढ्नुपर्ने बताए।
उनले पार्टी एकताबाट विच्चलित भए आफूहरूलाई जनताले छुट नदिने बताए। ठूला समस्याहरुलाई हल गर्न सक्ने पार्टी र नेताको रुपमा जनताले आफूहरुलाई भरोसा गरेकाले एकताका लागि आफुहरु जनताको घेरामा परिसकेको उनको भनाई थियो ।
उनले समानताको आधारमा सम्मानजनक र न्यायोचित परिस्थिति लाई विचार गरेर बुद्धिमतापूर्वक एकता गर्नुपर्नेमा दुई शीर्ष नेताबीच सहमति भएको जानकारी गराए।
दुवै दलले दुवैका संवेदनशिलता बुझेर अघि बढ्नुपर्नेमा जोड दिदै उनले सकारात्मक रुपमा नेतृत्वलाई सहयोग गर्न दुवै दलका कार्यकर्तालाई आग्रह गरे। विगतमा सामान्य विषयमा झगडा गर्ने पार्टीले समयको आवश्यकता बुझेर पार्टी एकतामा प्रतिवद्ध रहेको अवगत गराए।
सम्बोधनको सुरुमा नै अध्यक्ष दाहालले पार्टी एकतासँग सम्बन्धीत बैचारिक र सांगठनिक काममा तल्लिन हुनु परेकाले ध्यान पुर्याउन नसकेकाले कार्यक्रममा केही त्रूटी हुन पुगेको स्पष्ट पारे। आज देखिएको थोरै जोल्टिङले एकताप्रतिको आफ्हरुको प्रतिवद्धतालाई अझ दृढ बनाएको उनको भनाई थियो ।
सम्बोधनका क्रममा उनले राजनीतिक अराजकता र अस्थिरता अन्त्य गर्दै मुलुकलाई सम्वृद्ध तर्फ लैजाने सन्र्दभमा नै पार्टी एकताको बिजारोपण भएको भन्दै त्यस क्रममा भएका भेटघाट र वार्तालापको फेयरिस्त राखे। उनले शान्ति सम्झौता लगायतका विगतका विभिन्न राजनीतिक घटनाक्रमको स्मरण गर्दै अहिलेको प्राप्तीमा दुई कम्युष्टि पार्टीको महत्वपुर्ण योगदान रहेको दाबी गरे। उनले कम्युनिष्ट एकताको आधार तयार भएकाले पार्टी एकताको अन्तिम विन्दुमा आईपुगेको बताए।
मध्यान्ह १२ बजेको लागि पूर्वनिर्धारित कार्यक्रम व्यानरमा आएको विवादका कारण अपरान्ह ४ बजे पछि मात्रै सुरु भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा गर्न लागेको कार्यक्रममा लेनिन र माओको तस्वीर बिना ब्यानर बनेपछि माओवादी कार्यकर्ताले विरोध गरेका थिए । त्यसपछि दुई दलका शिर्ष नेताबीच दुईवटा ब्यानरमा कार्यक्रम गर्ने सहमति भए अनुसार दुई ब्यानर राखेर कार्यक्रम गरिएको थियो ।
हेर्नुहोस् भिडियोमाhttps://www.youtube.com/watch?v=KjmJYUJOHrA&feature=youtu.be