प्रदेश नम्बर ४ को नामकरण गोरखा राख्न गोरखाबासीले सुझाव दिएका छन्।
प्रदेशको नाम र राजधानीबारे जनताको सुझाव लिन आइतबार गोरखा पुगेको सांसदको टोलीसंगको अन्तरक्रियामा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले ऐतिहासिक तथा बीरताको भूमिको रुपमा विश्वसामु परिचित गोरखा नै प्रदेशको नाम सुहाउँदो हुने तर्क गरे।
‘चार नम्बर प्रदेशको नाम गोरखा राखौं, गोरखा विश्वमै ब्राण्ड बनिसकेको नाम हो’ उनले भने, ‘गोरखा प्रदेश राख्दा कसैको भावनामा ठेस लाग्दैन।’ गोरखा सदरमुकाममा भएको अन्तरक्रियामा धारणा राख्दै नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजङ्ग थापाले प्रदेशको नाम गोरखा राख्न सुझाव दिए।
‘गोरखाले विश्वमा बीरताको पहिचान बनाएको छ’ उनले भने। जातियताको आधारमा प्रदेशको नाम राख्न नहुने उनीहरुले बताए। नेकपा माओबादी केन्द्रले प्रदेशको नाम तमुवान हुनुपर्ने सुझाव दिएको छ। तर अरु राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिले गोरखा नाम राख्दा कसैलाई अन्याय नहुने तर्क गरेका छन्।
मानव अधिकारकर्मी स्थानेश्वर दुवाडीले प्रदेशको नाम के राख्ने भन्नेबारे पूर्वनिर्धारित गरेको भए यस्ता सुझाव तथा छलफलका लागि जिल्ला चहार्नुको औचित्य नहुने बताए। कम्तीमा गोरखाबाट निर्वाचित भएका सांसदले प्रदेशको नाम गोरखा राख्न पहल गर्नुपर्ने सहभागीको आग्रह थियो।
प्रदेश ४ मा राजधानीका बिषयमा भने खासै बिबाद छैन। पोखरा राजधानीको रुपमा सुहाउँदो सहर हुने सुझाव आएका छन्। सुझाव संकलन गर्न प्रदेश सांसद हरिशरण आचार्य, मनकुमारी गुरुङलगायतको टोली गोरखा पुगेको थियो। जिल्लाहरुबाट आएका सुझावको आधारमा राजधानी र नाम तय गर्ने प्रदेश राजधानी तथा सुझाव संकलन समितिले जनाएको छ।
सो टोलीले लिखित सुझाव संकलन गरेको हो। जसमध्ये राजधानी कहाँ पायक पर्छ र प्रदेशको नाम के राख्दा उपर्युक्त हुन्छ भन्नेबारे कारणसहितका प्रश्नावलीहरु छन्। सहभागीहरुले गोरखा प्रदेश र राजधानी पोखरा, डुम्रे र पालुङटारमध्ये एक हुनुपर्नेमा सुझाव दिएका छन्।