चुनावी समिक्षाका लागि बसिरहेको कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो मन्तव्य राखेका सदस्यहरूले हारको जिम्मेवारी नेतृत्वले मात्र नभएर सबैले लिनुपर्ने बताएका छन्।
केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले रामचन्द्र पौडेललाई सम्बोधन गर्दै पहिले सहमति गर्ने र पछि दोष दिने काम नगर्न आग्रह गरिन्। पौडेलले पार्टी सभापति देउवालाई लेखेको चिठी सार्वजनिक गरेकोमा पनि उनले आपत्ति जनाइन्।
'केन्द्रीय समितिमा छलफलै नगरी चिठी लेखेर सार्वजनिक गर्नुभो। माफ गर्नुहोला रामचन्द्र दाइ तर तपाईंले गल्ति गर्नुभो,’ उनले भनिन्, ‘पहिले दुवै बसेर सहमतिमै निर्णय गर्नुहुन्थ्यो। त्यसरी चिठी नै लेखेपछि सार्वजनिक गर्नुभन्दा दुवै नेताहरू बसेर छलफल गर्नुपर्थ्यो।’
अर्का केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलले तीन तीनवटा चुनाव गराएको जस पार्टी सभापतिलाई नदिएर सबैले हारको दोषमात्र दिएको भन्दै गुनासो गरे।
'स्थानीय र प्रतिनिधिसभा चुनाव गराएको श्रेय नदिने दोषमात्रै दिने? श्रेय र दोष दुवै दिउँ न,' उनले भने।
केन्द्रीय सदस्य कुलबहादुर गुरुङले नेतृत्वको गल्तिमा चुपचाप बसेको भन्दै सबै केन्द्रीय सदस्यहरू पनि चुनावी हारमा बराबर जिम्मेवार भएको बताएका छन्।
'संसदीय समिति बनाउँदा विधानमा तोकिएको भन्दा बढी बनाइयो हामी केन्द्रीय सदस्यहरू चुप बस्यौँ। टिकट वितरण मिलेन हामी चुप बस्यौँ नेतृत्व र केही नेताले गरेका काम चुपचाप लागेर हेर्यौँ पार्टी हारेपछि एकअर्कालाई दोष थोपर्दै बसेका छौँ। सामूहिक रूपमा जिम्मेवारी कसैले लिएका छैनौँ। अब त्यो जिम्मेवारी लिएर अघि बढ्नुपर्छ,' उनले भने।
उनले १३ औँ महाधिवेशनमा सभापतिका लागि देउवालाई दिएको समर्थन पनि फिर्ता गरेको घोषणा गरेका छन्।