कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश गरिएको छ।
आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालसँग भेटेर नीति तथा कार्यक्रम पेश गरेका हुन्।
चालू आर्थिक वर्ष २०७४/७५ को लागि प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई शनिबारको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो।मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था छ।
भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए।
सोमबार बस्ने कर्णाली प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।