युवाहरूमा बढ्दो विदेश पलायनको समस्या समाधान गर्न सरकारले युवालक्षित कार्यक्रमलाई विशेष प्राथमितकता दिने भएको छ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरको पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले युवालक्षित कार्यक्रमको नवीनतम खाका तयार भइसकेको बताएका हुन्। उनले मन्त्रालयका तर्फबाट यसका लागि विशेष कदम चालिइसकेको पनि बताए।
युवा मन्त्रालय नयाँ मन्त्रालय भएकाले यसको आफ्नै सीमा भएपनि अबका दिनमा यसले सबैभन्दा धेरै कार्यसम्पादन गर्ने सचिव सापकोटाले बताए। यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवा भन्ने बित्तिकै खेलकुदमात्र नबुझ्न सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन्। ढुङ्गेलले पैसाभन्दा पनि इच्छाशक्ति ठूलो भएकाले युवालक्षित उद्यम विकासको लागि परिषद् सँधै तयार रहेको बताए। उनले खेलकुद र मनोरञ्जनमा मात्र नभई समाजका हरेक क्षेत्रमा युवाको सशक्त उपस्थिति हुनपर्नेमा पनि जोड दिए।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष प्रेम दंगाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट एवं युवा तथा खेलकुद मन्त्रालयका उच्पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो।