नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गरेका हुन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ। यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो हो। नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेका छन्।’
विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले प्रगतिशील र देशभक्त जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।
गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा रहेको उनले बताए।