नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आइतबार संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएका छन्।
तोकिएको मितिमा एकता घोषणा नहुने भएपछि राजनीतिक बृत्तमा एमाले–माओवादी एकता संकटमा परेको वा एकताले आकार लिनै नपाउने हो कि भन्ने आशंका उब्जिएका बेला आइतबार एमाले र माओवादीले एकताको सन्देश दिने तयारी स्वरूप संयुक्त कार्यक्रम गर्न लागेक हुन्।
एमाले नेता केशव बडालका अनुसार वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि समय अभावका कारण केही दिन पछि धकेलिएको भन्दै एमाले–माओवादी केन्द्रबीचको एकता नचाहने शक्तिहरु चलायमान भएकोतर्फ आफूहरू सचेत भएको बताए।
यसअघि कम्युनिष्ट पार्टी स्थापना दिवस (आइतबार) को अवसर पारेर एकताको घोषणा गर्ने बताएका दुई पार्टीका शीर्ष नेताले एकताको घोषणा गर्न नसके पनि एकताको बाटो बनाउने काम भइरहेको र चाँडै नै एकता प्रयासले मूर्त रुप लिने सन्देश दिने भएका हुन् ।
ओली र प्रचण्डले आइतबार पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रममा सम्बोधन गर्ने छन् र उनीहरुले सम्बोधनमा एकताको सन्देश दिने तयारी छ ।
एकतामा शंका उत्पन्न भएका बेला ओली र प्रचण्डबिच पछिल्ला दिनमा लामो वार्ता भइरहेका छन् । ओली र प्रचण्डबिच शुक्रबार र शनिबार पनि छलफल भएको थियो ।
दुवै नेताले आइतबार हुने कार्यक्रममा पार्टी एकताका बारेमा आफूहरुबिच भएका पछिल्ला छलफलबाट भएको प्रगति बारे कार्यकर्तालाई जानकारी पनि गराउने छन् ।