कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जनतालाई संघीयताको अनुभूति हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
गृहजिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले शुक्रबार सदरमुकाम मान्मामा सरकारी कार्यालयका प्रमुखहरूसँग भेट गरी जनताको काममा ढिलासुस्ती नगर्न र खटाइएको कार्य क्षेत्रमा पुगेर काम गर्न निर्देशन दिएका हुन्।
स्थानीय निकायको निर्वाचनसँगै कर्मचारी र जनप्रतिनिधिबीच तालमेलको अभाव देखिएको बताउँदै मुख्यमन्त्री शाहीले कर्मचारीसँग रहेको दक्षता र जनप्रतिनिधिसँग रहेको योजनाको समायोजन गरेमा मात्रै देशको विकासमा सहयोग पुग्ने उल्लेख गरे।
उनले कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबीच देखिएको असमझदारी लगायतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनताले गरेको विकास र समृद्धिको अपेक्षा पुरा गर्न प्रदेश सरकार तीव्र गतिका साथ अगाडि बढेको बताउँदै मुख्यमन्त्री शाहीले सरकारको गतिमा नै कर्मचारी प्रशासन दौड्नु पर्नेमा जोड दिए।
कानूनको अभावमा देखिएका समस्या समाधानका लागि पनि कानून निर्माणको कामलाई पनि गति दिन प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए।