राष्ट्रिय जनता पार्टी नेपालका असन्तुष्ट सदस्यहरू पार्टीबाट अलग्गिएका छन्।
राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन्। उक्त पार्टीको महाधिवेशन नहुञ्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरूले जानकारी गराएका छन्।
तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरूमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरूमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन्।
संयोजक यादवले ०६२/६३ को मधेश आन्दोलनमा ६३ जनाले सहादत प्राप्त भएको बताउँदै भने,‘मधेश आन्दोलनमा निर्दोष मधेशी जनताले ज्यान गुमाए, तर यसको फाइदा र उपलब्धी भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरूका परिवारले मात्रै सुविधा लिन तल्लिन भए, संविधान संशोधनको विषयमा उनीहरूले कुनै भूमिका खेलेनन्।’
मधेशी जनताको मुल एजेण्डा संविधान संशोधनमा कुनै भूमिका नखेलेको बरु सत्तामा जान मात्रै हतार गरेकोले आफूहरूले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवको स्पष्टोक्ति थियो।
उनले भने,‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरूले मुद्दा नै विर्सजन गर्नुभयो, उहाँहरूले मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी हो।’
राजपाका नेतृत्वकर्ताहरूले आन्दोलनलाई सत्तामा पुग्ने भर्याङ बनाएको उनको आरोप थियो।
त्यस्तै, कार्यक्रममा बोल्दै सह–संयोजक रीतेश कुमार सिंहले आफूहरूले पद नपाएर पार्टी नफुटाएको स्पष्ट पारे। उनले भने,‘विगतमा के भयो? हामीलाई थाहा भएन, तर अहिले पनि हामी राम्रै पदमा थियौं, उहाँहरूको चल्ने शैली गलत थियो, जुन एजेण्डाका लागि आन्दोलन भएको थियो, त्यसमा उहाँहरूले कुनै काम गर्नु भएन।’
राजपा नेपालका अध्यक्ष मण्डलहरूले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै सिंहले भने,‘उनीहरूबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं।’
उनले आफूहरूले घोषणा गरेको नयाँ पार्टीको मुख्य एजेण्डा राष्ट्रियतासहितको लोकतन्त्र र समाजवाद भएको स्पष्ट पारे।
राजपाभित्रका सबै असन्तुष्ट साथीहरूलाई यो नयाँ पार्टीमा आफूहरूले स्वागत गर्ने उनको आह्वान थियो
उनीहरूले जारी गरेको विज्ञप्ति अनुसार राजपा नेपालको विभिन्न पदाधिकारीसहित ३३ जनाले पदबाट बहिष्कार गरेका छन्।
पार्टी बहिष्कार गर्ने सदस्यहरू :