गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारको मुख्य लक्ष्य विकास र समृद्धि भएको बताएका छन्।
गृहमन्त्री थापाले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति गराउन पनि मातहतका निकायलाई सचेत गराए।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती महिला विभागको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि कर्मचारीतन्त्रलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।
गृहमन्त्री थापाले राजनीतिक अधिकार प्राप्तिको आन्दोलनलाई पूर्णता दिँदै मुलुकको समृद्धि र विकासमा केन्द्रीत हुन पनि कर्मचारीहरूलाई सचेत गराए। उनले सुशासन, शान्ति र सुरक्षा स्थापना गर्न प्रतिबद्ध रहेको पनि बताए।