नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।
उपत्यका वाहिर रहेका नेताहरु बैठकमा सहभागी हुन नसक्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो। एयर मालिन्दोको विमान रनवेबाट चिप्लेर दुर्घटना भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गए राति देखि नै अवरुद्ध भएको थियो।
आन्तरिक उडान पनि प्रभावित हुँदा उपत्यका बाहिर रहेका नेताहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै आइतबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीलाई बताए।
‘पार्टीका नेताहरु पोखरा, विराटनगरबाट राजधानी फर्कनुपर्ने थियो। विमानस्थल अबरुद्ध भएपछि नेताहरु समयमै फर्कन सक्ने अवस्था रहेन। आजको बैठक स्थगित गरियो’ प्रवक्ता शर्माले भने, ‘रामचन्द्र पौडेल लगायत नेताहरु पोखरा विमानस्थल र विजयकुमार गच्छदारलगायत नेताहरु विराटनगर विमानस्थलमा पुगेर पनि राजधानी उड्न पाउनुभएन।’
हवाइ मार्गबाट राजधानी आउने तयारी गरेका प्रवक्ता शर्मालगायत नेताहरु सडकमार्गबाट राजधानी फर्किएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा ९५ जना सहभागी हुनुपर्नेमा पार्टी कार्यालयमा ३० जना पनि उपस्थित थिएनन्।
३५ केन्द्रीय सदस्यहरु विभिन्न कामले पोखरा, विराटनगर पुगेका थिए। उनीहरु हवाइ मार्गबाट राजधानी फर्कने तयारीमा बिहानभर विमानस्थलमा बसेपनि त्रिभुवन विमानस्थल सुचारु हुन समय लागेपछि केही नेताहरु सडकमार्गबाट राजधानी फर्किएका छन्। त्रिभुवन विमानस्थल मध्यानदेखि सुचारु भएको छ।
चुनावी हारको समीक्षा गर्न कांग्रेसको बैठक बस्न लागेको थियो। नेता खुमबहादुर खड्काको निधन भए पछि चैत १६ गतेदेखि स्थगित भएको बैठक शुक्रबार सुरु गर्ने तय भएपनि आइतबारसम्मका लागि पुनः स्थगित गरिएको हो। अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले बैठकमा धारणा राखिसकेका छन्।
आइतबार विहानदेखि सुरु हुने बैठकमा पनि चुनावी हारको समीक्षाले निरन्तरता पाउने प्रवक्ता शर्माले बताएका छन्।