विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग गरेको छ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरी पार्टीले सो कुराको माग गरेको हो।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कयौं भद्र आन्दोलनहरूको प्रतिक बनेको माइतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्ने गरी आएको यस निर्णयलाई अविलम्ब फिर्ता लिन हामि सरकार समक्ष जोडदार माग गर्दछौंl’
‘नेपालको संविधान २०७२ को धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको विरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरीत छ। साथै, यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरूलाई चिन्तित समेत तुल्याएको छ।’
पार्टीले काठमाडौंका ७ स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रममा लागि खुला भनेर तोकेको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
सरकारको निर्णयले शान्तिपूर्णरूपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर बनाएको पार्टीको बुझाइ छ।