प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गरेका छन्।
वैशाख ३ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रमुख कुँवरले ‘प्रदेश स्तरीय सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक’ प्रमाणीकरण गरेका हुन्।
प्रदेश प्रमुख कुँवरले बुधबार‘प्रदेश सरकारको प्रदेश नम्बर ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक’ प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
प्रदेश सभा प्रदेश नम्बर ४ पोखराबाट पारित तथा सभामुखबाट प्रमाणित पाँच प्रति विधेयक प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेपछि एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभाको सचिवालय र संघीय कानून मन्त्रालयमा एक/एक प्रति पठाइएको कार्यालयले जनाएको छ।
प्रदेश सभाले पारित गरेका विधेयकहरू नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।
नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले पन्ध्र दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिने व्यवस्था भए पनि प्रदेश प्रमुख कुँवरले विधेयक पाएलगत्तै प्रमाणीकरण गरिदिएर प्रदेश सरकारलाई कानून बनाउन सजिलो गरिदिएका छन्। प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ।