प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले रिक्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक भोलिबाट सुरू हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका हुन्। उनले भने,‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, हुन त यो ढिलो भयो, संगठन क्रियाशील बनाउनको लागि पनि यो चाँडै गर्नुपर्ने थियो, केही विलम्ब भयो तर अब हुन्छ।’
साक्षात्कारमा बोल्दै उनले निर्वाचनमा पार्टीले गम्भीर पराजय भोगेको बारेमा केन्द्रीय कार्यसमिति बैठकमा बृहत समिक्षा भैरहेको जनाए। उनले भने,‘छलफल समाप्त भएको छैन, हामी एउटा गम्भीर समिक्षा गर्छौं, समिक्षाबाट आएको निश्कर्षका आधारमा भोलिका दिनमा पार्टीलाई मार्ग निर्देशन बनाउँदै अघि बढाउँछौं।’
उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प सुनाए।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले पार्टीका आन्तरिक विषयहरू भित्रैबाट हल गर्ने पनि सुनाए। उनले भने,‘नेताहरू त अहिले संयमित हुनुभएको छ, पहिलो एजेण्डा भनेको अब पार्टी एक ढिक्का हुन्छ, यसमा कुनै दुइमत छैन, दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरूलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रीत गरिरहेको छ, सरकारलाई पार्टीकरणजस्तो, र पार्टीलाई सरकारजस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं,’ महतले सरकारले नियम मिचेर काम गरे पार्टीले एक स्वरमा विरोध गर्ने पनि जनाए।
उनले पार्टीको महासमिति चाँडै बस्ने विश्वास दिलाए।
उनले भने,‘संघीय संरचना अनुसार विधान परिवर्तन गर्नुपर्छ, हामी अब संगठनहरूलाई क्रियाशील बनाउँछौं, देशभरि नै संगठन निर्माणमा हामी जोड दिन्छौं, भातृसंगठनहरूलाई नै पनि सशक्त बनाएर अघि बढाउँछौं।’
https://www.youtube.com/watch?v=UykIu73DXhs&feature=youtu.be