नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘संख्या अर्थात् ५०/५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु।’
नेता पोखरेलले पार्टी एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक हुने भएकोले गणितको आधारमा एकता नहुने स्पष्ट पारे।
‘एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक रह्यो, त्यसैले गणितको आधारमा एकता हुँदैन’ उनले भने,‘प्रश्न गणितको होइन, हामी योग्य र सक्षम नेताहरूलाई जिम्मेवारी दिन्छौं, संख्या त १/२ जना तलमाथि हुनसक्छ।’
उनले दुवै पार्टीका नेताहरूले अब एकता प्रक्रियालाई छामछामछुमछुम पार्न नहुने स्पष्ट पारे। उनले पार्टी एकता बराबरी वा घटी भन्दा पनि दुवै पार्टीका नेताहरूलाई सम्मानजनक रूपमा व्यवस्थापन गर्ने गरी हुने जिकिर गरे।
उनले भने,‘एक/दुई जना एमालेका वा एक/दुई जना माओवादीका साथीहरू बढी घटी हुन सक्छन्, संख्याको आधारमा एकता हुँदैन,’ मुलुकमा ५० वर्ष नेतृत्व प्रदान गर्ने गरी दुवै पार्टीबीच एकता हुने उनको भनाइ थियो।
पोखरेलले दुई पार्टीबीचको एकता छिट्टै टुंगोमा पुग्ने दाबी गरे।
उनले थपे,‘अब धेरै समय लाग्दैन, चाँडै हामी एकता घोषणा गर्छौं, एकता किन ढिलाइ भैरहेको छ? भनेर अहिले जनताले सोध्न थालिसके, तपाईंहरू पत्रकार मित्रहरूले पनि एकता कहिले हुन्छ?, के कारणले विलम्ब भयो? भनेर सोध्दा यसमा त हाम्रो कमजोरी देखियो नि, समृद्ध नेपाल र सुखी नेपालीको नारा अनुसार देशलाई अघि बढाउनुपर्छ, एकताको नाममा अब अल्मलिने फुर्सद छैन।’