प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराएका छन्।
राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ‘बालकक्षा’मा बुधबार भर्ना गरी अध्ययनका लागि आवश्यक खर्चको व्यवस्थापनको जिम्मेवारी बहन गरेका विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टले जानकारी दिए।
घरको आर्थिक अवस्था कमजोर भएको स्वस्तिकाका लागि आवश्यक पोशाक, सिसाकलम, कापी, झोलालगायतमा आवश्यक खर्च जिफन्टका अध्यक्षसमेत रहेका रिमालले व्यवस्थापन गराएका हुन्।
विद्यार्थी भर्ना महाअभियानको समय बनाएर उनले बालिकाका लागि माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सबै खर्च सहयोगको प्रतिबद्धता जनाए।
उनले उक्त विद्यालयमा दिवंगत आफ्ना बुबाआमा शिवप्रसाद–नर्मदा रिमालको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरी गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्।रासस