प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी भएका छन्।
मुख्यमन्त्री पोखरेलले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गोरक्षरत्ननाथ माविमा विपन्न र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी शैक्षिक जिम्मेवारी लिने जनाएका हुन्।
घोराही ४ गोग्लीका शिवु चौधरी र घोराही १७ चौघेराका आशिका चौधरीलाई कक्षा १ र घोराही १७ चौघेराका राजन शर्मा, कल्पना योगी र कमल बुढालाई कक्षा ४ मा भर्ना गराउँदै मुख्यमन्त्रीको सचिवालय र परिवारले अभिभावकत्व ग्रहण गरेको हो।
आफूसँगै पत्नी सुजिता शाक्य, दुई छोरी अंकिता/आकृति पोखरेल र मुख्यमन्त्रीका स्वकिय सचिव सरोज रेग्मीले पाँच बालबालिकाको एकएक जनाको दरले अभिभावकत्व ग्रहण गर्ने मुख्यमन्त्री पोखरेलले जानकारी दिए।
मुख्यमन्त्री पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अत्यन्त मिहिनेत गर्नुपर्ने बताउँदै गुणस्तर सुधार गर्न सके भर्ना अभियान अझै प्रभावकारी हुने बताए।
उनले विद्यालय जानबाट बञ्चित बालबालिकाको अभिभावक बन्न पाउँदा खुशी लागेको बताउँदै यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए।
विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले विपन्न र अभिभावकविहीन बालबालिकाको अभिभावक बनेर साथ दिएकोमा आफूलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हौसला मिलेको बताए।