युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ।
यही वैशाख ३ गतेदेखि आज बिहानसम्म बसेको बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, हस्त शाही र प्रभात कटुवाललाई मनोनित गरेको छ।
बैठकले महासचिवमा नरेश शाहीलाई जिम्मेवारी दिएको छ। सचिवमा माधव बास्तोला, राजेश साह, उर्मिला सुनुवार, वचन सिंह, पूर्ण लामा, अन्जना अधिकारी, हिमाल लिम्बू, दीपक जिएम, क्षितिज थेबे, राजु कार्की, धु्रव यादव, सन्तोष रावल र सुरेन्द्र कार्कीलाई मनोनित गरेको छ।
बैठकले संगठनका अध्यक्ष राजीव पहारीको राजीनामा स्वीकृत गरेको छ। नवनिर्वाचित अध्यक्ष पौडेलले सबैलाई मिलाएर महाधिवेशनको तिथि तय गर्ने जानकारी दिए।
संगठनका तत्कालीन उपाध्यक्ष दिलु पन्तले भने संगठनको आठौँ महाधिवेशन पछि विभिन्न प्रक्रियाले नवौँ महाधिवेशन गर्न नसकिएकाले तेस्रो पटक महाधिवेशन गर्न नेतृत्व चयन गरिए पनि यस प्रक्रियाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रतिक्रिया दिए।
महासंघद्वारा पत्रकारलाई सम्मान
यसैबीच, दक्षिण एशियाली ज्योतिष महासंघले नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरलाई सम्मान गरेको छ।
महासंघको १६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा चेतना डट कमका सम्पादक रामकुमार क्षेत्री र हिमाल टेलिभिजनका समाचारदाता मनिता पोखरेललाई समेत सम्मान गरिएको थियो।
समाचारको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गरेबापत उनीहरूलाई सम्मान दिइएको हो। त्यसैगरी, संस्थाका पूर्व अध्यक्ष लक्ष्मी बराल र पुरुषोत्तम भट्टराईलाई पनि सम्मान गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले सम्मान गर्दै सञ्चारमाध्यमले सत्यतथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई सुसूचित गर्ने हुँदा समाजलाई सकारात्मक परिवर्तन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
संस्थाका अध्यक्ष लक्ष्मण पन्थीले पछिल्लो समय ज्योतिषशास्त्रको अध्ययनप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको बताउँदै अहिले करिब २० हजार ज्योतिष उक्त संस्थामा आबद्ध रहेको जानकारी गराए।रासस