सरकारले चिनीको भन्सार महशुल वृद्धि गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले चिनीको भन्सार महशुल १५ प्रतिशतले वृद्धि गरेको हो । स्वदेशी चिनीको उत्पादनलाई प्रोत्साहित गर्न चिनीको भन्सार महशुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
त्यसैगरी सरकारले उखुको मूल्यमा पनि प्रतिक्वीटल ५ रुपैयाँ ५६ पैसा वृद्धि गरेको छ । सरकारका प्रवक्ता बास्कोटाले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ भन्दा नबढने गरी आन्तरिक संयन्त्र बनाउने निर्णय गरिएको बताए।
सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्थाको दर्ता तथा नविकरणको काम जिल्ला प्रशासन कार्यालयबाट गर्न पनि रोक लगाएको छ। गैर नाफामूलक संस्था नभएकाले उनीहरुको दर्ता तथा नविकरणको काम जिल्ला प्रशासन कार्यालयबाट नगराउने निर्णय गरिएको पनि सरकारका प्रवक्ता बास्कोटाले बताए।
सरकारले तत्कालका लागि संघ र प्रदेशका लागि आवश्यक आन्तरिक सुुरक्षा व्यवस्था समन्वय सम्बन्धि निर्देशिका पनि जारी गरेको छ।
प्रदेशमा सो सम्बन्धि कानुन तर्जुमा नभएसम्मका लागि आवश्यक निर्देशिका सरकारले जारी गरेको हो ।
सरकारले संघ अन्तरगतको मन्त्रालयको विभाग र त्यसको दरबन्दी पनि कटौति गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले काठमाडौं उपत्यका बाहिर चक्रपथ अन्तरगत सतुंगल क्षेत्रको ६ दशमलव ६ किलोमिटर क्षेत्रमा पर्ने जग्गा एकीकरण योजना संचालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई अनुमति पनि दिएको छ।
सरकारले कर्मचारी संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त पनि गरेको छ। आर्थिक कार्यविधि पहिलो संशोधन पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ।
विद्युतीय भुक्तानी प्रणालीलाई सुनिश्चित गर्न सरकारले सो संशोधन स्वीकृत गरेको पनि प्रवक्ता बास्कोटाले बताए।
सरकारले विदेशी विनिमय व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयकको अवधारणालाई सैद्धान्तिक सहमति पनि दिएको छ ।
https://www.youtube.com/watch?v=zrYTPzxG9cg