प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापन पत्र बुझाउँदै काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने निर्णयप्रति आपत्ति जनाएको हो। त्यस अवसरमा संघले तत्काल निषेधित क्षेत्र तोक्ने निर्णय खारेज नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ।
नागरिकको आवाजलाई बुलन्द गर्ने माइतीघर जस्ता सार्वजनिक ठाउँहरूमा कुनै पनि कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने नमिल्ने भएकाले यस्ता ठाउँमा लगाइएको निषेधाज्ञा तत्काल हटाउन माग गर्नु परेको संघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए।
उनले सरकारले काठमाडौंका सार्वजनिक ठाउँहरूमा निषेधाज्ञा लगाउने निर्णय फिर्ता नलिए आफूहरू निषेधाज्ञा तोड्न बाध्य हुने चेतावनी पनि दिए।
यता, प्रमुख जिल्ला अधिकारी शर्माले भने काठमाडौंलाई व्यवस्थित बनाउन सार्वजनिक स्थलहरूमा निषेधाज्ञा लगाउने निर्णय लिइएको बताए।उनले सरकारको निर्णय कार्यान्वयन गर्ने दायित्वबाट आफूहरू पछि नहट्ने पनि स्पष्ट पारे।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, पेप्सीकोलाको खेल मैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरबाहेक अन्य ठाउँमा धर्ना, विरोध, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको थियो ।