नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।
अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा आठ सदस्यीय एक समिति गठन गरिएको छ।
सरकारले सरकारले ‘सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ मूल नाराका साथ वैशाख १ गतेदेखि सामुदायिक विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउनका लागि भर्ना अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, विश्वविद्यालय कमिटीका प्रत्येक सदस्यले एकजना विद्यार्थी अनिवार्य भर्ना गराउनुपर्ने महासचिव महरले बताए।
यस्तै, देशभरिका उच्चमाध्यमिक, माध्यमिक र स्थानीय कमिटीले पनि एक–एक विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउने भएका छन्।
संयोजक बरालले विद्यार्थी भर्ना गर्न केन्द्रीय कमिटीका सदस्य बुधबारबाटै जाने बताए।
अझै पनि प्राथमिक तहमा २.८ प्रतिशत र आधारभूत तहमा ७.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन् ।