तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुगेका छन्।
गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रूपमा तनहुँ आइ पुगेका हुन्। उनले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हालेका छन्।
तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौं गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो। प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो। प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताए।
‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पुरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माले बताए। तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उनले गरेका छन्।
यसअघि निमित्तको हैसियतमा सहायक प्रजिअ तुलसीराम पौडेलले दैनिक कार्यभार भने सम्हाल्दै आएका थिए।रासस