नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली कांग्रेस सुनसरीले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्ण सिटौलाको प्रमुख उपस्थितिमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नववर्ष शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी कार्यकर्ताहरूले असन्तुष्टि पोखेका हुन्।
उनीहरूले नेताहरूको कार्यशैली ठीक नभएको, पार्टीको आदर्श नीति र कार्यक्रमलाई व्यवहारमा लागू नगरेको, पार्टी र संगठनलाई बलियो बनाउनुभन्दा पनि आफू बलियो हुन गुट र उपगुटको राजनीति गरेको, लोकतान्त्रिक शक्तिहरू र एमाओवादीबीच सरकारमासँगै भएता पनि सहकार्य गर्न नसकेको, पार्टी मनपरी ढंगले चलाएको, पार्टीको नेतृत्वमा आउन जथाभावी क्रियाशील सदस्य वितरण गरेको जस्ता आरोप लगाउँदै व्यापक असन्तुष्टि व्यक्त गरेका छन्।
पूर्वमहामन्त्री सिटौलाले कार्यकर्ताहरूले राखेका जिज्ञासा र असन्तुष्टिहरूलाई गम्भीर रूपले लिएको भन्दै अब बस्ने केन्द्रीय समितिको बैठकमा जस्ताको तस्तै प्रस्तुत गरी सम्बोधन गराउन पहल गर्ने र पार्टीलाई अब विधान र पद्धति बमोजिम सञ्चालन गर्ने, संगठन विस्तार र सुदृढिकरण गर्ने, प्रशिक्षणका कार्यक्रमहरू राख्ने र आवश्यकतानुसार विधान संशोधन गरी पार्टीलाई नयाँ जीवन र उर्जा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कार्यकर्ताहरूलाई आफूले दिएको सुझाव सबभन्दा पहिला आफैमा लागू गर्न र नेताहरूको चाकडी नगर्न आग्रह गरे।