लामो समय पछि आज एमाले र माओवादीका शीर्ष नेताबीच वार्ता हुँदैछ। छलफलका लागि सिन्धुपाल्चोकको सुकुटेबाट माओवादी अध्यक्ष प्रचण्ड सीधै बालुवाटार पुग्दैछन् ।
प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएका थिए। सोही कारण आइतबार बिहान हुने भनिएको एमाले-माओवादी वार्ता हुन सकेको थिएन ।
प्रचण्ड आज बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीसँग छलफल गर्न पुग्दैछन्।
एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको थियो। तर, दुबै पार्टीले केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी रहेको बताउँदै आएका छन्।
ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्न सकिरहेको छैन।
चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन।