सरकारले आगामी वैशाख ५ गते विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण दिवस मनाउने तयारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी ५ गते बुधबार विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउने गरी दिवसको रूपमा मनाउने तयारी गरिएको जानकारी गराएका हुन्।
वैशाखदेखि असारसम्मको मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अभियानलाई सफल बनाउन सबैलाई साथ दिन पनि आग्रह गरे।
मन्त्री पोखरेलले यस वर्ष भर्ना गरिएको बालबालिकालाई विद्यालय तहमा पढाउने जिम्मेवारी राज्यले लिने घोषणा पनि गरे।
मन्त्री पोखरेलले १ वर्षभित्र अनिवार्य शिक्षा ऐन ल्याउने योजना पनि सार्वजनिक गरे। उनले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने राज्यको दायित्व पुरा गराउन एक वर्षभित्र अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको पनि स्पष्ट पारे।
मन्त्री पोखरेलले अनिवार्य शिक्षा ऐन आएपछि सबै बालबालिकालाई विद्यालय तहको शिक्षा दिने दायित्व राज्यको हुने पनि स्मरण गराए।
सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालनमा ल्याएको हो। भर्ना अभियानलाई सफल बनाउन सरकारले स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानमा साथ दिन सबै जनप्रतिनिधिहरू र उनीहरूमार्फत् नागरिक समाजका अगुवाहरूलाई समेत आग्रह गरिसकेको छ।
शिक्षा मन्त्री पोखरेलले भर्ना गरिएका सबै बालबालिकाहरूलाई विद्यालय तहको शिक्षा दिने जिम्मेवारी राज्यले लिने पनि बताए। सरकारले घोषणा गरेको असारसम्मको ३ महिने कार्ययोजनामा पनि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई मुख्य प्राथमिकता दिइएको छ।
त्यसैगरी, यो ३ महिनाभित्र संघीय शिक्षा विधेयक र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा तयार पार्ने, मानव संशाधन प्रक्षेपण र जनशक्ति विकास योजनाका प्राविधिक कार्यदल गठन गर्नेलगायतका योजना अघि सारिएको छ।
https://www.youtube.com/watch?v=AAqx2MjGbfE&feature=youtu.be