प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तिको लागि भएको आन्दोलन टुंगिएको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले तीनवटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिए।
हालको लोकतन्त्र जनताले दिएको बलिदान भएको भन्दै प्रधानमन्त्री ओलीले अब अरुलाई अपजस दिन छोडेर विकासका काममा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।
कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दै विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरू भएको प्रधानमन्त्री ओलीले बताएका छन्।
उनले कर्णालीलाई समृद्धिको यात्रामा डोर्याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताए। कर्णाली प्रदेशलाई अब पछाडि पर्न नदिइने भन्दै ओलीले कर्णालीलाई विकासको मूल धारमा ल्याउनका लागि प्रदेश र संघीय सरकार तत्परताका साथ लाग्ने विश्वास व्यक्त गरे।
उनले आफ्नो कर्णाली भ्रमण पहिलो प्रादेशिक भ्रमण भएको समेत स्पष्ट पारेका छन्। कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता औँल्याए।