पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टामा अन्यौलता देखिएको छ।
निजामती किताबखानाले पराजुलीको पेन्सनपट्टा बनाउँदा चाहिने अवकासको मितिबारे स्पष्ट पार्न न्यायपरिषद् र सर्वोच्च अदालत प्रशासनलगायत कार्यालयलाई चिठी काटेको छ।
चैत १ गते प्रधानन्यायाधीशबाट राजीनामा दिएका पराजुलीले आफ्नो पेन्सनपट्टा बनाउन निजामती किताबखानामा केही समयअघि निवेदन दिएका थिए। न्यायपरिषद्ले पनि उनको पेन्सनपट्टा बनाइदिन चिठी लेखेको थियो।
परिषद् र पराजुलीका निवेदनमा छुट्टाछुट्टै विवरण देखिएपछि प्रधानन्यायाधीशको उमेर कायम गर्ने निकायहरूमा चिठी काटिएको किताबखानाका निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।
न्यायपरिषद्ले पराजुलीको अवकास मिति २०७४ साल साउन २१ गते भएको नयाँ तथ्य भेटिएको भन्दै पेन्सनपट्टा सोही अनुसार बनाइदिन चिठी लेखेका थियो।
पराजुलीले भने आफूले चैत १ गते राष्ट्रपतिसमक्ष राजीनामा दिएकाले त्यो दिनसम्म आफ्नो सेवाअवधि भएको जिकिर गरेर निवेदन दिएका थिए।
किताबखानाले सोधेर पठाएकामा आफूले साउन २१ सम्मै पराजुलीको पदावधि भएको जवाफ फेरि पनि पठाइसकेको न्यायपरिषद् सचिव नृपध्वज निरौलाले जानकारी दिए।
न्यायाधीशहरूको सम्पूर्ण विवरण परिषद्ले राख्ने भएपनि पेन्सनपट्टा भने निजामती किताबखानाले नै बनाइदिने गरेको छ।
आफूले सोधेका सबै निकायबाट जवाफ नआइसकेकाले पराजुलीको पेन्सनपट्टाबारे कुनैपनि निर्णय नगरेको किताबखानाका निर्देशक पराजुलीले बताए।
पराजुली एक वर्ष यता जन्ममिति विवादमा तानिएका थिए। एकवर्षअघि परिषदमा उनका तीन उमेर भेटिएका थिए। एउटा नागरिकतामा २०३० सालमा उनी २१ वर्ष पुगेको उल्लेख थियो। जसअनुसार उनको जन्ममिति २००९ साल साउन २१ गते हुन्थ्यो। नागरिकताको प्रतिलिपि र त्रिभुवन विश्वविद्यालयबाट उनले लिएका शैक्षिक योग्यताका प्रमाणपत्रमा उनको दोस्रो जन्ममिति थियो २०१० साल वैशाख १६ गते। र परिषदको रोष्टरमा उनको तेस्रो जन्ममिति थियो २०१० वैशाख १३ गते।
यसरी तीनवटा जन्ममिति भेटिएको र न्यायाधीशजस्तो मान्छेको जन्ममिति विवाद हुन नहुने भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सबैभन्दा पहिलो जन्ममिति २००९ साउन २१ कायम गरिदिएकी थिइन्। जसअनुसार पराजुलीको अवकास साउन २१ गते हुन्थ्यो। प्रधानन्यायाधीश ६५ वर्ष पुगेपछि उमेर हदका कारण अवकास पाउँछन्।
कार्कीपछि प्रधानन्यायाधीश बनेका पराजुली आफैंले 'फरक फरक जन्ममिति भेटिए र तिनको अन्तर एकवर्षभन्दा बढी नभए जुन मिति स्पष्ट छ त्यसैलाई मान्ने भन्ने परिषद कानुन' अनुसार आफ्नो जन्ममिति कायम गरेका थिए।
उनले न्यायपरिषदमा एसएलसी पास गरेपछि पाइने चारित्रिक प्रमाणपत्र भने बुझाएका थिएनन्। उक्त चारित्रिक प्रमाणपत्र परिषद्ले मगाएपछि परीक्षा नियन्त्रण कार्यालयले फागुन ३० गते उपलब्ध गराएको थियो।
जसमा पराजुलीको जन्ममिति २०११ वैशाख १३ गते उल्लेख थियो। परिषद सचिव निरौलाले पत्र पाउनेबित्तिकै एसएलसीकै जन्ममिति कायम गर्दै पराजुलीलाई अवकासको पत्र थमाएका थिए।
कानुनअनुसार फरकफरक उमेर भेटिएमा र तीनको अन्तर एकवर्षभन्दा बढी भएमा जुन जन्ममितिबाट पहिले अवकास हुन्छ त्यही कायम हुने जिकिर गर्दै सचिव स्तरीय निर्णयले पराजुलीलाई अवकासको पत्र थमाएका थिए।
त्यसको जानकारी उनले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद र सर्वोच्च अदालतलाई पनि गराएका थिए। तर उक्त चिठी सार्वजनिक भैसकेपछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पथ तथा गोपनीयताको शपथ पराजुलीबाटै लिएकी थिइन्। त्यसरी अवकास पाएको चिठीलाई नमान्ने भन्दै पराजुलीले आफ्नो धारणा सार्वजनिक गरेका थिए। तर भोलिपल्ट चैत १ गते उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाए।
यो विवाद अझै सल्टिएको छैन। परिषद्ले र उनले पेन्सनपट्टाका लागि अवकास मिति छुट्टाछुट्टै दिएपछि किताबखानाले निर्णय गर्न नसकेको हो।
परिषदले पठाएको चिठीकै आधारमा उनको अवकास मिति मान्ने हो भने पराजुलीले साउनदेखि फागुनसम्म पाएको तलब र सुविधा फिर्ता गर्नु पर्नेछ। अवकास पाएपछि तलब र अन्यसुविधा लिन पाइँदैन। आफ्नो स्वार्थअनुसार सेवाअवधि बढाएका कर्मचारीले त्यो अवधिमा पाएको सुविधा र तलब फिर्ता नगरेसम्म पेन्सनपट्टा नपाउने व्यवस्था पनि छ।
चैत १ गतेलाई नै उनको अवकास मिति मान्ने हो भने परिषद्को उक्त पत्राचारको कुनै अर्थ हुने छैन।