नवनियुक्त प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरी सेवालाई प्रभावकारी बनाउन आफू मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
बिहीबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी मुख्यालय पुगी आईजीपी खनालले प्रहरी अधिकारीलाई ब्रिफिङ गर्दै ग्राहक कुरेर बस्ने खुद्रा पसलजस्तै प्रहरी सेवा नबनाउन आग्रह गरे। ‘प्रहरी खुद्रा पसल होइन कतिबेला ग्राहक आउला भनेर कुर्ने, जनताको सेवामा खटिने प्रहरीले आफैं थाहा पाउनुपर्छ।’
आचरण ब्यवहार र इमान्दारितालाई प्राथमिकतामा राखेर काम गर्न आईजीपी खनालले निर्देशन दिएका छन्।
‘संगठनलाई धमिल्याउनेलाई ठाउँ छैन’, आईजीपी खनालको भनाईलाई उद्धृत गर्दै एक उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘संगठनको छवी उच्च राख्न सबै मिलेर कर्तव्यनिष्ट रूपमा काम गरौं, संगठनलाई बदनाम गराउने र धमिलो पाना श्रृजना गर्नेलाई संगठनमा ठाउँ छैन भन्नु भएको छ।’
उनले कुनै पनि ब्यक्तिले अवैध काम गर्न लगाए त्यस्तो नेपाल प्रहरीलाई सैह्य नहुने भन्दै उनले त्यस्तो आदेश पालना गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिए। त्यस्तै संगठन भित्रको रिक्ततालाई छिट्टै पूर्ति गर्ने पनि उनले आश्वासन दिए।
‘तस्करी र अपराधीसँग हात मिलाउने होइन अब सशस्त अप्रेशन हुन्छ, तस्करीसँग हात मिलाउने र आर्थिक प्रलोभनमा कोही परेमा त्यसको परिणाम आफैं भोग्नुपर्ने हुन्छ,’ उनले ब्रिफिङमा भने।
उनले राम्रो काम गर्ने प्रहरी अधिकारीले कुनै पनि चिन्ता नगर्न समेत सुझाए। ‘राम्रो काम गर्नेको उचित मूल्याकन हुन्छ, त्यसमा कुनै पक्षपात हुनेछैन ढुक्कका साथ काम गर्नुहोस्,’ उनले भने।
त्यसैगरी प्रहरीको माथिल्लो अधिकारी र तल्लो तहका कर्मचारीको सुविधालाई पनि विचार गर्ने आईजिपी खनालले दाबी गरे।