सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग के कुरा गर्नुभयो भन्नेबारे आफूले जान्न चाहेको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर परियोजना कसरी अघि बढाउने? भन्ने विषयमा संयुक्त पत्रकार सम्मेलनमा जानकारी नगराइएकाले आफू यस विषयमा अनविज्ञ रहेको पनि बताए।
'पञ्चेश्वरको विषयलाई लिएर हाम्रो पार्टी फुट्यो। म त्यो क्षेत्रको बासिन्दा भएकाले मलाई धेरै छुन्छ। १० वर्षमा महाकाली सन्धिको पुनरावलोकन गर्ने भनिएको छ २० वर्षमा पनि डिपिआर बनेको छैन, यो कुरा भारतलाई स्मरण गराउनु भयो कि भएन भन्ने मलाई जिज्ञासा छ,' रावलले भने, 'भ्रमणमा यस्ता ठोस कुरामा छलफल हुनुपर्छ। कि सहमति हुनुपर्यो विमति छ भने नेपाली जनताले थाहा पाउनु पर्यो भारतले के भन्दैछ।'
उपाध्यक्ष रावलले तराईमा हुने डुबान समस्या समाधानका विषयमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतसँग कसरी विषय उठान गर्यो भनि प्रश्न समेत गरे।
'तराईमा डुबान हुन्छ हाम्रा लाखौं जनता त्यसबाट वर्षेनी प्रभावित हुन्छन्, त्यो विषयमा भारतसँग कुरा भयो कि भएन,' रावलले भने, 'संयुक्त वक्तव्यमा मैले यो कुरा देखिनँ। यसबारे कुरा भयो कि भएन मैले केही थाहा पाइनँ।'
उपाध्यक्ष रावलले मुलुकको साझा हितका विषयमा सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन्।
https://www.youtube.com/watch?v=Mz6UX1VFoMw&feature=youtu.be