माओवादी नेता रामबहादुर थापा (बादल)ले गृह मन्त्रालय सम्हालेको डेढ महिनाजति भयो। फागुन १४ गते गृह मन्त्रालयको बागडोर सम्हालेका बादलले यो बीचमा बोलेका कतिपय कुराका कारण उनलाई ब्यंग्य र हाँसोका पात्र बनाइएको छ।
मन्त्री बादलले भने आफूले गृह प्रशासन र नेपालको सुरक्षा क्षेत्रमा रहेका कुरिति बाहिर ल्याउन खोज्दा उडाइएको भन्दै गुनासो गरेका छन्।
'मैले आजसम्म कुनै मिडियालाई अन्तर्वार्ता दिएर महत्वकांक्षी योजना सार्वजानिक गरेको छैन, विगतमा भएका अवैध काम र मनपरीतन्त्रलाई बन्द गरेर राम्रो गर्छु भन्दा मेरा कुरालाई उडाउने र बङ्गाउने काम भयो, गृहमन्त्रीलाई उद्धत गर्दै उनका प्रेस संयोजक किरण भट्टराईले भने।
उनकाअनुसार मन्त्री बादलले विमानस्थलबाट हुने तस्करी र राजश्व छलीदेखि सरकारी सवारी साधन दुरुपयोगमा सुधार गर्छु भन्दा सर्मथन पाइने अपेक्षा गरेका थिए। तर त्यसको साटो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्ता विषयलाई बंग्याएर उडाउँदा उनले 'चित्त दुखाएका' छन्।
चैत १८ गते ८२ बुँदे गृह सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री बादलले नेपालमा हिन्दी चलचित्र ‘सोले’भन्दा ‘महासोले’ अर्थात् ‘सोलेका बाउहरू’ रहेको प्रतिक्रिया दिए। सोही दिन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन आयात हुने गरेको बताए।
उनले जेलमा रहेका कैदी पनि मर्सिडिज् कार चढेर नेवारी खाजा खान जाने र, दाइनाइके र भाइ नाइकेको दादागिरी चल्ने पनि उल्लेख गरे।
त्यसअघि उनले देशका मुख्यमुख्य कारागारको निरीक्षण गरेका थिए।
जेलमा रहेका कैदीको दादागिरी रोक्न मन्त्री बादलले लामो समष एकै ठाँउका बसेका कैदीको सरुवा गर्न निर्देशन दिए।
उनले देशमा तस्करीको राज भएको र राजश्व छली गर्नेहरूको जमात रहेको भन्दै त्यस्ता समूहलाई परास्त गर्न आफूले ठोस कदम चाल्ने दाबी गरे।
यसबीचमा उनले दुई काममा सुधारको थालनी पनि गरेका छन्।
सरकारी सवारी साधनको दुरुपयोग रोक्न सेतो नम्बर प्लेटलाई रातो बनाउने नदिने र विदाको दिनमा अनुमतिबेगर चलेका गाडीलाई नियन्त्रणमा लिन थालिएको छ।
योसँगै विभिन्न नेता तथा व्यक्तिको घरमा कामदार र चालकका रूपमा बसेका प्रहरीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन्। उनको निर्देशनपछि त्यसरी बसेका करिब १ सय जना प्रहरी हेडक्वाटर फिर्ता भएका छन्।