नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता खुमबहादुर खड्कालाई राजा ज्ञानेन्द्रले मुद्दा लगाएर फसाएको बताएका छन्। बुधवार स्वर्गीय नेताको १३औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै देउवाले त्यस्तो बताएका हुन्।
राजा ज्ञानेन्द्रले खाली कांग्रेसलाई मात्रै सताएको र फसाएको बताएउँदै पूर्वप्रधानमन्त्री देउवाले त्यही कारण आज ज्ञानेन्द्रको दुर्दशा भोग्नु परेको स्मरण गराए।
‘खिम्ती कुरामा खुमबहादुजीलाई राजा ज्ञानेन्द्रले मुद्दा लगाएर चरित्र हत्या गरे,’ देउवाले भने, ‘ज्ञानेन्द्रले मलाई पनि ९ महिनासम्म जेल राखेको हो।’
सभापति देउवाले आफूले हालसम्म खुमबहादुर खड्का जस्तो हिम्मतिलो र जुझारो मान्छे नदेखेको बताए। ‘उहाँको आँट र प्रोत्साहनले मलाई पनि आँट मिल्थ्यो। उहाँले परिणामको मतलव नगरी काम गर्न हिम्मत दिनुहुन्थ्यो,’ देउवाले भने।
नेता खड्काको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको बताए। स्वर्गीय खड्का लोकप्रियता कति थियो भन्ने कुरा काठमाडौंको आर्यघाटमा झल्किएको भन्दै उनले मलामी जानेको संख्या गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई भन्दा कम नभएको बताए। उनले नेता खड्काले पुरा गर्न नसकेको बाटो पुरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।
कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री शशांक कोईरालाले खुमबहादुर खड्का क्रान्ति नायक भएको भन्दै उनले क्रान्तिका क्रममा र जीवनमा अतेन्तै कष्ट उठाएकोले ति कुराहरुलाई काँग्रेसले लिपिबद्ध गर्नुपर्ने बताए।
खुमबहादुरलाई अनावश्यक कुरामा भ्रष्टचारको मुद्दा षडयन्त्रपूर्वक लगाइएको भन्दै त्यो काँग्रेसका लागि दुर्भाग्य भएको कोईरालाले बताए। महामन्त्री कोईरालाले स्वर्गीय नेता खड्काले धर्मको निर्णय गर्दा जनमत संग्रहमा लैजानुपर्छ भन्ने उनको भनाईमा काँग्रेस गम्भीर बन्नुपर्ने बताए ।
‘८० प्रतिशत हिन्दुको बसोबास रहेको नेपालमा हिन्दुधर्मको वारेमा जनमतसंग्रहमा जानुपर्छ,’ कोईरालाले भने, ‘कार्यकर्तालाई अत्यन्तै माया गर्ने, कुशल संगनकर्ता भएको हुँदा त्यसैको सम्मानका खातिर पार्टी नेतृत्व दाङ आएको उनले बताए। ‘उहाँ धनीबाट लिएर गरिबलाई दिने स्वभावको नेता हो। अब खुमबहादुरको बाटोमा काँग्रेस हिड्नुपर्छ,’ कोईरालाले भने ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नेता शेखर कोईरालाले २०३३ सालमा फाँसी हुनसक्ने खतरा रहँदा रहँदै वीपीसँगसँगै स्वदेश फर्किने एकजना साहासिक नेता खुमबहादुर खड्काले प्रजातन्त्रको लागि आजिवन संघर्ष गरेको बताए। ‘अहिले देश अराजकतातर्फ गइरहेको भन्दै नेता कोईरालाले देश अधिनायकवादको खुट्किलो उक्लिरहेको छ। त्यसैले खुमबहादुरजी प्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने हो भने अव अधिनायकवादलाई परास्त गर्न सबै लाग्नुपर्छ।’
राष्ट्रिय अनुसन्धान, राजश्व विभाग, एनजियो, संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय तथा न्यायालय पनि प्रधानमन्त्री कार्यालय मातहतमा आउन थालेको हुँदा केपी ओली अधिनायकवादतर्फ उन्मुख रहेको बताए। ‘नयाँ वर्षदेखि फेसवुक बन्द गर्ने हल्ला सुन्दैछु, यो त शक्तिलाई दुरूपयोग गरेर अगाडि बढ्न तानाशाही लाद्ने षडयन्त्र हो। त्यो कांग्रेसलाई कदापी स्वीकार्य हुँदैन।’
उक्त कार्यक्रमलाई केन्द्रीय सदस्यहरु दीपक गिरी, शंकर भण्डारी, किशोरसिंह राठोर, पार्वती डिसी चौधरी, मोहन बस्नेत, देवेन्द्र राज कँडेल,पूर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्याय, प्रकाश शरण महत लगाएत दर्जनौं नेता कार्यकर्ताले सम्वोधन गरेका थिए ।
खड्का पुत्र अनुरागको राजनीतिमा आउने उद्घोषपरिवारको तर्फबाट श्रद्धाञ्जली सभामा सहभागिहरुलाई धन्यवाद दिँदै खुमबहादुरका एक्ला छोरा अनुरागले राजनीतिमा आउने घोषणा गरेका छन्। सानो उमेरदेखि नै आफू बुवाको नजिक रहेर पार्टीका बारेमा धेरै कुरा अनुभव गरेको बताएउँदै उनले आफ्नो वुवाका अधुरा सपना पुरा गर्न आफु राजनीतिमा आउने बताए। ‘म यही मञ्चबाट राजनीतिक यात्रा अगाडि बढाउने घोषणा गर्छु,’ खड्काले भने।
उनले दुई महिनापछि आफ्नो मास्टर्सको पढाई पुरा गरेर स्वदेश फर्किने र त्यसपछि दाङमा आएर राजनीति गर्ने बताए। ‘मलाई मेरो बुवाको जस्तै तपाईँहरूको साथ र समर्थन दिनुहोस्। बुबाका बाँकी कामहरु पुरा गरेर देखाउनेछु,’ खड्काले भने।