गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरूमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरू सक्रिय भएको भन्दै उनीहरूलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्।
गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरूलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजबिन जारी रहेको बताए।
सो घटनाले आफूलाई दुखित तुल्याएको भन्दै गृहमन्त्रीले घटनामा संलग्नहरूको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।
उनले भने, ‘जातीयता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरूलाई कारवाहीको दायरामा ल्याइनेछ।’
प्रतिनिधिमण्डलको माग बमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रकृया अगाडि बढाउने समेत उनले बताए।
प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने , घटनाको छानबिन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतका माग राखेका थिए।