प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्।
सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनै पनि प्रधानमन्त्रीहरूको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे।
उनले थपे,‘अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमण पनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ।’
प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनको जिकिर छ।
साक्षात्कारमा बोल्दै महतले भारतीय प्रधानमन्त्रीहरूको नेपाल भ्रमण पनि अहिलेसम्म असफल नभएको जिकिर गरे।
उनले भने,‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो, तर ऐतिहासिक हुनुपर्ने केही कारण छैन।’
नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि रियलाइजेशन गरेकोले भारत नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको उनको भनाइ थियो।
यद्यपी उनले भारत भ्रमणमा जानुपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको छलफलमा आफूले भारतसँग ठोस कुरा उठाउन सुझाव दिएको सुनाए।
उनले थपे,‘रेल आउने कुरा राम्रो हो, तर भाषण गरेर मात्रै हुँदैन नि, यसको लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो, यी कुराको बारेमा टुंगो त लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ।’
रेल आउनु राम्रो कुरा भएको उनको टिप्पणी थियो। तर, यो कसले बनाइदिने भन्ने कुरा एकिन नभएकोमा चिन्ता व्यक्त गरे। उनले भने,‘भारतले बनाइदिने भए त खुशीको कुरा हो, रेल आएपछि फाइदा के/कस्तो हुने हो ? त्यो पनि थाहा हुनुपर्यो नि।’
हरेक प्रस्तावहरूको गम्भिरतापूर्वक छलफल गर्न जरुरी रहेको उनको भनाइ थियो।
उनले भने,‘प्राविधिक तथा आर्थिक पक्षबारे छलफल गर्न जरुरी छ, फाइदा तथा बेफाइदा हेर्नुपर्छ, भविष्यमा यसले कस्तो प्रतिफल दिन्छ? त्यो पनि हेर्नुपर्छ।’
त्यस्तै, जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै महतले भने,‘भाषणले यस्तो गर्छु भनेर मात्रै हुँदैन नि।’
नेपाल र भारतबीच झण्डै ५/६ खर्बको व्यापार घाटा रहेको सुनाउँदै उनले भने,‘हाम्रो निर्यात कम छ, व्यापार घाटा डरलाग्दो छ, नेपालका उत्पादनहरू जस्तो अदुवा लगायतका वस्तुहरू निर्यात गर्न धेरै बन्धनहरू छन्, यसबारेमा कुरा गर्नुपर्दथ्यो, वाणिज्य सन्धि भएको भए राम्रो हुन्थ्यो।’
त्यस्तै, हवाई रुट र वाणिज्यसम्बन्धी सन्धि भएको भए नेपालको अर्थ व्यवस्थामा ठोस उपलब्धि गराउने थियो भन्दै उनले त्यो हुन नसक्नु दुःखद् भएको गुनासो पोखे।
वर्तमान सरकारले ल्याएको श्वेतपत्रले निराशा ल्याएको उनको आरोप थियो।
उनले भने,‘श्वेतपत्रमा अर्थतन्त्रलाई अन्धकार देखाइएको छ, तर अहिले ढुकुटी रित्तिएको अवस्था छैन नि, ढुकुटी रिक्तियो भन्नु गलत हो, पछिल्लो वर्षयता देशमा ६२ प्रतिशतले राजस्व वृद्धि भएको छ, सार्क मुलुकमै नेपाल जति राजस्व उठाउने अरु कुनै देश छैन।’
नेपालको अहिले वैदेशिक निर्भरता घटेको पनि महतले सुनाए।
उनले भने,‘यो त सवल पक्ष हो, यसबारे श्वेतपत्रमा कुनै कुरा उल्लेख गरिएको छैन, मुलुकको अर्थतन्त्रलाई गलत देखाइएको छ, यो चिन्ताको विषय हो।’
मुलुक संघीय सरंचनामा गएसँगै वित्तीय हिसाबले धेरै चुनौतिपूर्ण अवस्था रहेको कुरा आफूले धेरै पहिलेदेखि नै बोल्दै आएको उनको भनाइ थियो।
उनले भने,‘अब सरकारले फजुल खर्च नियन्त्रण गर्नुपर्छ, अनुत्पादक खर्च गर्नुहुँदैन, प्रतिफल दिने कुरामा मात्रै लगानी गर्नुपर्छ।’
यसअघिका सरकारहरूले उपभोग्य वस्तुमा खर्च गर्ने गरेको उनको आरोप थियो। बजेटमै नभएका योजनाको लागि बजेट छुट्याउनु दुःखद् भएको पनि उनले गुनासो पोखे।
महतले भने,‘गलत प्रकृतिका खर्चहरू नियन्त्रण गर्नुपर्छ, मन्त्रालयमा कर्मचारी घटाउनुपर्छ।’
त्यस्तै, उनले मुलुकमा तीन तहको संघीय संरचना बनेसँगै कसले के काम गर्ने भन्ने जिम्मेवारी नै थाहा नभएको पनि बताए ।
उनले थपे,‘हामी अझै पनि संक्रमणकालीन अवस्थामै छौं, व्यवहार र कार्यान्वयनको हिसाबले हामी संक्रमणकालमा छौं।’ उनले सरकारलाई भाषणभन्दा पनि काममा ध्यान दिन सुझाव दिए।