नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजनीतिक सहमतिकै आधारमा सचिव सरुवा गरेको भए उपयुक्त हुने धारणा राखेका छन्।
माओवादी केन्द्रका मन्त्रीहरूले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटगरी प्रधानमन्त्री ओलीले सचिवहरूको सरुवामा परामर्श नगरेकोले पार्टी नेतृत्वको सामू सो धारणा राखेका हुन्।
प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जानुअघि बिहिबार बेलुका ३० जना सचिव सरुवा गरेका थिए। सोही विषयमा परामर्श समेत नगरिएको माओवादी केन्द्रका मन्त्रीहरूको गुनासो छ।
सचिव सरुवाको विषयमा माओवादीमा असन्तुष्टि छ नि? भन्ने प्रश्नमा पार्टी प्रवक्ता पम्फा भुसालले भनिन् ‘मन्त्रीहरूले पनि थाहा पाउनु भएन भन्ने छ, ‘मन्त्रिपरिषदमा छलफल गर्ने विषय हो। राजनीतिक रूपमा पनि पार्टी एकतामा जाँदै गरेको दुई पार्टी भएकाले परामर्श गरेर जाँदा राम्रो हुन्छ भन्ने हो।’
भेटमा मन्त्रीहरूले सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाउने विषयमा पनि पार्टी अध्यक्षसँग परामर्श गरेका थिए। जनताको आकांक्षा सम्बोधन हुनेगरी मन्त्रालयको कामलाई प्रभावकारी बनाउने विषय र बजेटका विषयमा पनि छलफल गरिएको प्रवक्ता भुसालले जानकारी दिइन्।
यता, अध्यक्ष दाहालले भने २ दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले सोही अनुसार अघि बढ्न पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सचेत गराए। उनले जनताको अपेक्षा अनुसार काम गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए।
https://www.youtube.com/watch?v=WLFbcdwCJN0&feature=youtu.be